विश्वका सस्ता पर्यटकीय गन्तव्य मध्ये नेपाल १९ औं स्थानमा

news

काठमाडौं– सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेर प्रवर्धनात्मक काम गरिरहेका बेला नेपाललाई सहयोग पुग्ने गरी वल्ड इकोनोमिक फोरमले नयाँ सूची सार्वजनिक गरेको छ । जहाँ नेपाल विश्वकै सस्तो पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत भएको छ ।सरकारले घोषणा गरेको पर्यटन वर्ष सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा रहेको नेपाल विदेशी पर्यटकका लागि विश्वमै सस्ता गन्तव्यका रूपमा रहेको तथ्य सार्बजनिक भएको हो । वल्ड इकोनोमिक फोरमले हालै सार्बजनिक गरेको ‘यात्रा तथा पर्यटन प्रतिस्पर्धी सूचक–२०१९’ प्रतिवेदन अनुसार कम खर्चमै घुमघाम गर्न सकिने देशमध्ये नेपाल पनि अगाडि रहेको देखिएको हो ।

प्रतिवेदनमा समेटिएका विश्वका १४० वटा देशमध्ये मूल्य प्रतिस्पर्धी सूचकमा नेपाल १५ औँ स्थानमा छ ।प्रतिवेदन अनुसार इरान पर्यटकका लागि विश्वकै सबैभन्दा सस्तो देशका रूपमा छ । त्यस्तै बेलायत पर्यटकका लागि विश्वकै महँगो देशका रूपमा रहेको उल्लेख छ । छिमेकी मुलुक भारत सस्ता मुलुकको सूचीमा १३ औँ स्थानमा छ । ब्रुनाई, इजिप्ट, कजाखस्तान, मलेसिया सस्ता गन्तव्यको क्रमशः दोस्रोदेखि पाँचौँ स्थानमा छन् । नेपाल यस्तो सूचीमा अघिल्लो वर्ष १९ औँ स्थानमा थियो ।मूल्य प्रतिस्पर्धी सूचकमा खास गरी चारवटा पक्षलाई गणना गरिएको प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये टिकट कर तथा विमानस्थल शुल्क, होटल शुल्क, खरिद क्षमता र इन्धन मूल्यलाई आधार बनाएको छ । ।प्रतिवेदन अनुसार नेपालले सन् २०१८ मा प्रतिपर्यटक औसत ७७ हजार रुपियाँ (६७० डलर) आम्दानी गरेको उल्लेख छ ।

सो वर्ष कुल नौ लाख ४० हजार पर्यटक भित्रिएकोमा नेपालले ६२ करोड ९८ लाख डलर विदेशी पर्यटकबाट आम्दानी गर्न सफल भएको छ ।पर्यटन क्षेत्रको आकार कुल गार्हस्थ्य उत्पादनको ३.६ प्रतिशत अर्थात एक अर्ब एक करोड डलर पुगेको प्रतिवेदनमा उल्लेख छ ।यो क्षेत्रबाट चार लाख ५४ हजारले रोजगारी पाएको पनि उल्लेख गरिएको छ । प्रतिवेदनमा मूल्य प्रतिस्पर्धी सहित विभिन्न १४ वटा सूचकका आधारमा सम्बन्धित देशको पर्यटन क्षेत्रको विश्लेषण गरिएको छ । पर्यटकका लागि विश्वकै सस्ता गन्तव्यमा अगाडि हुनुबाहेक बाँकी सूचकमा नेपालको अवस्था खास राम्रो छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *