Wednesday, May 1, 2024
Home > News > मेलम्चीको पानी वितरण आगामी आवको शुरुमा हुने


मेलम्चीको पानी वितरण आगामी आवको शुरुमा हुने

काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्षका लागि रु ४३ अर्ब १० करोड बजेट छुट्टाएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आवमा ९४ प्रतिशत जनसङ्ख्यालाई आधारभूतस्तरको खानेपानी सेवा उपलब्ध गराइने बताउनुभयो ।मेलम्ची खानेपानी आयोजनाको आधारभूत निर्माण कार्य चालू आवभित्र नै सम्पन्न गरी आगामी आवको शुरुदेखि नै काठमाडौँ उपत्यकामा खानेपानी वितरण गरिने भएको छ ।

यो आयोजनाका लागि रु पाँच अर्ब ४६ करोड विनियोजन गरिएको उहाँले बताउनुभयो । काठमाडौँ उपत्यका खानेपानी र ढल निकासका लागि रु पाँच अर्ब ८९ करोड विनियोजन गरिएको छ ।सरकारले शुद्ध खानेपानीको आपूर्तिलाई दिगो बनाउन महाकाली, कर्णाली, बबई, कोशीलगायतका नदीमा आधारित थोक वितरण प्रणाली तथा जलाशयपूर्ण खानेपानी आयोजना सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न प्राथमिकताका आधारमा कार्यान्वयन गर्ने व्यवस्था मिलाइएको छ ।

सबै प्रदेशको राजधानीमा खानेपानीको वितरणलाई व्यवस्थित गर्न खानेपानी आयोजना निर्माण तथा सुधारका लागि बजेट विनियोजन गरिएको मन्त्री खतिवडाले बताउनुभयो । आगामी वर्ष सुख्खाग्रस्त क्षेत्रमा निर्माणाधीन जलवायू अनुकूलित तथा लिफ्ट तथा सहआयोजना रु छ अर्ब छुट्टाइएको छ ।काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्राविधिक र वित्तीय अवस्था सुधार गर्न संस्थागत संरचना विकास गरी व्यावसायिक संस्थाका रुपमा विकास गर्न रु एक अर्ब ९९ करोड विनियोजन गरिएको छ ।साना खानेपानी आयोजना प्रदेशअन्तर्गत सञ्चालन गर्ने गरी वित्तीय हस्तान्तरणको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । हाल सञ्चालित आयोजना सङ्घ, प्रदेश र स्थानीय तहबाट नियमित मर्मत गरी सञ्चालन गर्न रु तीन अर्ब पाँच करोड विनियोजन गरिएको छ ।

खानेपानीको स्रोत तथा जलाधार क्षेत्रको पहिचान, संरक्षण र विकास गरिनेछ । भूमिगत खानेपानीको पुनःभरण कार्यलाई तीव्रता दिइनेछ । तराई मधेशमा वितरण हुने खानेपानी रसायनमुक्त बनाइने उहाँले बताउनुभयो ।नेपाल खुल्ला दिसामुक्त राष्ट्र घोषणा भइसकेको अवस्थामा आधारभूत तहको सरसफाइलाई तीव्र बनाउन स्थानीय तहमार्फत सरसफाइका कार्यक्रम अघि बढाइनेछ । सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा सार्वजनिक शौचालय तथा ढल निर्माण र फोहरपानी प्रशोधनका कार्यक्रम सञ्चालन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *